
बुटवल । नवलपरासीको बर्दघाट बजारमा ग्यास लिक हुंदा भएको आगलागीबाट ३७ लाख बढीको क्षति भएको छ ।
चारवटा पसलमा भएको आगलागीबाट ३७ लाख ५ हजार बराबरका सरसामान जलेर नष्ट हुंदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।
स्थानीय बमबहादुर थापाको २ तले घरको सटर भाडामा लिई बस्ने आशिष फोटो स्टुडियो भित्र खाजा बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको हो ।
आगलागीबाट आशिष फोटो स्टुडियो पूर्ण रूपमा क्षति भएको छ ।
आगो निभाउनेक्रममा फोटो स्टुडियोका सञ्चालक आशिष चौधरी समान्य घाइते भएका छन् । त्यसैगरी आगलागीबाट पर्बत युनिक फेन्सी, रबिन फार्मेसी र जे.के. सैलुनमा आंशिक क्षति भएको डिएसपी पाण्डेले जानकारी दिए । दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।