
मणिमुकुन्द सेन उद्यान संरक्षण समिति र शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रकाे ब्यवस्थापनमा आयोजना गरिएको छ पार्क सम्मेलनले नेपालकाेपर्यटन प्रवर्द्धन र विकासमा सहयाेग पुग्ने बिश्वास लिईएकाे छ।
उद्यान तथा पार्कहरुलाई सौन्दर्यता र मनोरन्जनका अतिरिक्त आर्थिक श्रोतको प्राप्ति संगै अध्ययन अनुसन्धान केन्द्र , रोजगारी सिर्जना, जैविक विविधताको संरक्षणका साथै आन्तरिक तथा वाह्य पर्यटनको सबैभन्दा सशक्त माध्यम बनाउन सहयाेग पुग्ने अपेक्षा लिईएकाे मणिमुकुन्दसेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुईटेलले बताए।
पार्क सम्मेलनबारे जानकारी दिने उदेश्यले आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै राष्ट्रिय पार्क सम्मेलन आयाेजक समितिका संयाेजक समेत रहेका लुईटेलले पार्क तथा उद्यान सम्बन्धि नीति निर्माण र पर्यटन प्रवर्धनमा सहयोग पुग्नेगरी देशभरि छरिएर रहेका उद्यानको व्यवस्थापन र सञ्चालनमा समस्याको पहिचान र समाधानका उपाय पत्ता लगाउनुका साथै संस्थागत विकास गर्ने उद्देश्यले पार्क सम्मेलन गर्ने आयाेजना गरिएको बताए।
उनले बगैचा, फूलबारी, गुफा, ताल तलैया, सिमसार क्षेत्र, मठ-मन्दिर क्षेत्र तथा रमणिय सम्भाव्यता बोकेका स्थानहरु अहिले पार्क, उद्यान तथा बाटिकाको रुपमा विकास भएकाे बताउदै उद्यानहरुले प्रकृतिदेखि संस्कृतिसम्म, वातावरण, जैविक विविधता, सौन्दर्यता र मनोरन्जन लगायतका सांस्कृतिक तथा धार्मिक आयामहरुलाई समेत आत्मसाथ गरेकाे बताए।
“नेपालका पार्कहरु तीब्र शहरीकरण, आधुनिक विकास, खाेज, अनुसन्धान र अन्वेषण, भोगाइ, सिकाइका आधारमा मानवीय आवश्यकता परिपूर्तिका लागि विकास गरिएका प्राकृतिक र मानव निर्मित संरचना सहितका मनोरन्जन स्थलहरु आधुनिक युगको शहरी विकासको मानकमा अनिवार्य आवश्यकता बनेका छन्” उनले भने।
लुईटेलले स्थानीय पहिचान र राष्ट्रिय गौरवगाथाले भरिपूर्ण पार्क, उद्यान, बाटिका तथा पर्यटकीय महत्व बोकेका ठाँउहरुलाई थप आकर्षणको केन्द्र बनाउनका लागि यो सम्मेलनले विशेष योगदान पुयाउने अपेक्षा गरिएको बताए।
जेठ ६ र ७ गते गरी २ दिन चल्ने पार्क सम्मेलनमा देशभरिका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरु सहभागीहुने र पार्कहरुकाे राष्ट्रिय नेतृत्व चयन गर्ने आयाेजकले जनाएका छन्।
सम्मेलनमा संविधानबिद् कासीराज दाहालले पार्क ब्यवस्थापन र कानुनी जटिलता तथा पत्रकार डिआर घिमिरेले पर्या पर्यटन र पार्क ब्यवस्थापन सम्वन्धमा अलग अलग कार्यपत्र प्रस्तुत गर्नेछन् ।
पत्रकार सम्मेलनमा बाेल्दै शंकरनगर बनबाटिकाका अध्यक्ष बेल प्रसाद शर्माले पार्क तथा उद्यानहरु पर्यापर्यटनको मुख्य आधार हो भन्ने विषयलाई स्थापित गर्न तथा नेपाली समाज बहुजातीय, बहुसांस्कृति भएको हुँदा कला संस्कृतिलाई पर्यटन प्रबर्द्धनसँग जोडेर रोजगारी सृजना गर्न सम्मेलनले सहयाेग गर्ने बताए।
मणिमुकुन्दसेन उद्यान संरक्षण समितिका प्रमुख प्रशासकीय अधिकृत अनन्त शिलवालले सम्मेलनकाे सम्पुर्ण आर्थिक ब्यवस्थापन मणिमुकुन्दसेन उद्यान संरक्षण समिति र शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रले गर्ने बताए।