
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष रुपमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने चेतावनी दिएपछि उनी आफै काठमाडौँ प्रहरी परिसर पुगेको खुलेको छ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्तिमाथि अनुसन्धान जारी राखेका बेला खाणलाई पनि पक्राउ पुर्जी जारी गर्न प्रहरीमाथि दबाब परिरहेका बेला सोमबार साँझ खाण आफै बयानका लागि काठमाडौँ प्रहरी परिसर पुगेका हुन्।
प्रहरी स्रोतले भन्यो,‘पक्राउ परेका व्यक्तिले उहाँको नाम पोलेपछि सोधपुछका लागि बोलाएका थियौँ। सुरुमा उहाँले आउन आनकानी गरेपछि पक्राउ गर्छौँ भन्यौँ, त्यसपछि उहाँ आफै आउनुभएको हो।’ कांग्रेस स्रोतले पनि खाण पक्राउ पर्ने चेतावनीपछि परिसर पुगेको पुष्टि गरेको छ।
एमाले सचिवसमेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी यही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन्। अरु आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार साँझको बयानमा खाणलाई प्रारम्भिक रूपमा सोधपुछ गरिएको प्रहरीले जनाएको छ। सोधपुछपछि ‘बयान कागज’ गराएर छाडिएको प्रहरी स्रोतको भनाइ छ। खाणलाई प्रहरीले चाहेको बेला उपस्थित हुने गरी कागज गराएर छाडेको खुलेको छ।
सोही प्रकरणमा पक्राउ परेका पूर्व गृहसचिव टेकनारायण पाण्डेले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको इच्छाअनुसार नै आफूले मानव तस्कर गिरोहलाई सघाएको प्रहरीसामु बयान दिएका थिए।
हाल उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डेलाई प्रहरीले यही वैशाख २० गते पक्राउ गरेको थियो। खाण गृहमन्त्री बनेको एक महिनापछि टेकनारायण पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सचिवबाट गृह मन्त्रालयमा सरुवा भएका थिए।
सचिव पाण्डेले नै शुरूमा गिरोहका विचौलिया समूहसँग तत्कालीन गृहमन्त्री खाणको भेट गराइदिएको अनुसन्धानमा देखिएको छ। पाण्डेको मोबाइलबाट पनि खाण सो प्रकरणमा प्रत्यक्ष जोडिएको आधारहरु भेटिएको प्रहरी स्रोतको दाबी छ।
२०७४ फागुन १४ देखि २०७८ असार २८ गतेसम्म रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए। त्यसपछि २०७८ असारदेखि २०७९ पुस ११ गतेसम्म खाण गृह सम्हाल्न पुगेका थिए। बादलको भन्दा निकै छोटो कार्यकाल गृह मन्त्रालयमा बिताएका खाणले गिरोहसँग बलियो उठबस गरेको अनुसन्धानले देखाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गत चैतमा पक्राउ परेका सानु भण्डारीले अनुसन्धान अधिकृतसँगको बयानमा बालकृष्ण खाण र पत्नी मञ्जु खाणको समेत नाम आएपछि बयान ‘होल्ड’ भएको थियो।
अभियुक्तले बालकृष्ण खाणलाई ४ करोड ७५ लाख रूपैयाँ दिएको बताएका थिए। बयानको अडिओ रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेपछि एक हप्ता बयान होल्ड गरेर फेरि लिइएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणालाई समेत पैसा बुझाएको भनेर गिरोहसँग भएको मोबाइल कुराकानीको अडिओ भेटिएपछि प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ। विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरूले रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका बेला काम नहुँदै सरकार ढलेपछि बालकृष्ण खाण गृहमन्त्री भएपछि सचिव टेकनारायण पाण्डेमार्फत काम अघि बढेको बयान दिएका छन्।
ठगी गिरोहका नाइकेहरु कांग्रेस नेत्री सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको बयानका क्रममा बताएका थिए।
२०७६ साल जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो। उक्त कार्यदल बन्दा प्रेम राई (हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त) गृह सचिव थिए। उनी २०७४ चैत २६ देखि ०७६ माघ २० सम्म गृह सचिव बनेका हुन्।
उक्त प्रकरणमा राईको नाम पनि पोलिएको छ। भुटानी शरणार्थीको समस्या समाधानका लागि कार्यदल गठन हुनुभन्दा अघि नै एजेन्टहरूले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउन थालिसकेका थिए।
उक्त गिरोहले आठ सय ७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम उठाएका थिए। एकै परिवारबाट एक करोड ६० लाख रुपैयाँसम्म उठाएका उनीहरुले एक अर्ब ठगी गरेको खुलेको छ।