रास्वपाको प्रारम्भिक निर्वाचन : हिजाे ४२ प्रतिशत मतदान भयाे, आज कति हाेला ? जजिरा र थाई एयर एसियाले भैरहवामा पुनः उडान गर्ने बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ मा गर्ने निर्णय सिद्धार्थ राजमार्गको सुनौली–पोखरा सडक ४५ किमी छोटो बनाउने तयारी रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान                
समाचार :

५ वर्षभित्र लुम्बिनीमा ४ सरकार, ४५ मन्त्री !

सत्ता समीकरण परिवर्तन तथा पार्टीहरूबीचको झगडाले नेतृत्व अदलबदल भइरहँदा प्रदेश सरकार मन्त्री उत्पादन कारखाना बनेको छ ।

सत्ता टिकाउन पहिलो पाँच वर्ष मुख्यमन्त्री र मन्त्री बन्ने होडमा बितेको प्रदेशसभाको दोस्रो कार्यकाल झनै अस्थिर हुने देखिएको हो ।

निर्वाचनपछि नयाँ सरकार बनेको १०० दिन पूरा नहुँदै सरकारको नेतृत्व परिवर्तनले प्रदेश संरचनाप्रति जनतामा चरम निराशा र वितृष्णा बढाउँदै लगेको छ । प्रदेशहरूलाई राजनीतिकर्मीले जागिर खाने/खुवाउने माध्यमको रूपमा प्रयोग गर्दा संघीयताको मर्म, आवश्यकता र औचित्यमाथि नै प्रश्न चिह्न खडा हुँदै गएको छ ।

प्रदेश सभाको दोस्रो कार्यकालको ‘हनिमुन पिरियड’ पूरा नहुँदै लुम्बिनी प्रदेश सरकार ढल्यो । सरकार ढलेपछि मुख्यमन्त्री मात्र हैन, स्वाभाविक रूपमा मन्त्रीहरू पनि परिवर्तन हुने भए ।

लुम्बिनी प्रदेशमा पहिलो कार्यकालको हिसाब गर्ने हो भने कुल सांसद संख्याको करीब ३० प्रतिशत सांसद मन्त्री बनेका थिए । यो संख्या भनेको हरेक ३ सांसद बराबर करीब १ मन्त्री हो ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । पहिलो कार्यकालमा लुम्बिनीमा ३२ मन्त्री र दुई मुख्यमन्त्री बनेका थिए । त्यतिबेला नेकपा एमालेका शंकर पोखरेल र माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बने ।

पोखरेलले तत्कालीन नेकपा विभाजन हुनुअघि ६ सदस्यीय रहेको मन्त्रिमण्डल नेकपा विभाजनपछि सत्ता टिकाउन ९ सदस्यीय पुर्‍याए ।

पोखरेल अल्पमतमा परेर हटेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको ‘मिलीजुली’ सरकार बनेपछि कूलप्रसाद केसीले मन्त्रालय विभाजन गरी ‘जम्बो’ १४ मन्त्री र ३ राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिमण्डल बनाए, जुन सात प्रदेशमध्ये सबैभन्दा ठूलो थियो ।

दोस्रो कार्यकालमा लुम्बिनीमा मन्त्रीहरूको संख्या अझै बढेर जाने देखिन्छ । निवर्तमान मुख्यमन्त्री लीला गिरी नेतृत्वको तीन महिने सरकारमा मुख्यमन्त्रीसहित १० जना मन्त्री बनिसके ।

शुक्रवार बनेको नयाँ सरकारमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तीनवटा सत्तारूढ दलका सांसदलाई मन्त्री बनाएर ४ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । यसरी हेर्दा लुम्बिनी प्रदेशमा साढे पाँच वर्षमा ४ जना मुख्यमन्त्री र ४५ जना मन्त्री बनिसके ।

८ दल र १ स्वतन्त्र सांसदले समर्थन गरेको वर्तमान सरकारमा भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाएर १२/१३ सदस्यीय बनाउने तयारीमा गठबन्धनका नेताहरू लागेका छन् ।

शुक्रबार लुम्बिनीमा नयाँ सरकार बनेपछि मन्त्री बन्नलाई सांसदहरूको दौधधूप छ । प्रदेशसभाको यो कार्यकालको अन्तिमसम्ममा कति सांसदले राष्ट्रिय झण्डा हालेको गाडी चढ्ने हुन् थाहा छैन ।

गठबन्धनका अनुसार लुम्बिनी प्रदेशको नेतृत्व आधा/आधा कार्यकाल लिने साझेदारी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच बनेको छ । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले प्रदेशमा पहिला कांग्रेसले र त्यसपछि माओवादीले नेतृत्व गर्ने सहमति छ ।

‘लुम्बिनी प्रदेश सरकारको नेतृत्व आलोपालो हुन्छ,’ पूर्व प्रदेश मन्त्री समेत रहेका बरालले भने, ‘आवश्यकताअनुसार मन्त्रालय पनि विभाजन हुने देखियो । सबैलाई मिलाएर लैजानुको विकल्प छैन ।’

यता तीन महिनामै सरकारको नेतृत्वबाट प्रतिपक्षको कुर्सीमा पुगेको नेकपा एमालेमा यो गठबन्धन पाँच वर्षसम्म टिक्नेमा संशय देखेको छ । गठबन्धनमा दरार देखिनेबित्तिकै माओवादी वा कांग्रेस दुईमध्ये एउटालाई साथमा लिएर सरकार बनाउने ध्यानमा एमाले छ ।

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले नेता र सांसदहरू सत्ताको विकृत खेलमा लागिरहे संघीयता कमजोर हुँदै जाने बताउँछन् ।

‘अहिलेको संघीयताप्रति जनताको वितृष्णा बढेको रहेको छ,’ प्राध्यापक केसी भन्छन्, ‘देशको आर्थिक अवस्था तहसनहस हुँदैछ । जनतालाई दुईछाक खान समस्या छ । नेताहरू सत्ताको खेलमा रमाएका छन् । जनताले परिवर्तनको झिल्को देखाइसकेका छन् । त्यो विस्फोट हुन बेर लाग्दैन ।’

मुलुकमा संघीयता आएपछिको पाँच वर्ष हेर्दा जनताको जीवनस्तरमा कुनै परिवर्तन नदेखिएको केसीको भनाइ छ ।

नेताहरू मन्त्री बन्ने ध्याउन्नमा लागिरहँदा प्रदेश संरचनाको औचित्यमाथि नै बहस शुरू भएका छन् । दुई वा दुईभन्दा बढी दल नमिली सरकार बन्न सक्ने अवस्था केन्द्रदेखि प्रदेशसम्मै छैन ।

राजनीतिक अस्थिरता अझै केही वर्ष ‘ट्रयाक’ मा आउने देखिँदैन । मुलुकमा संघीयता आएको उपलब्धि मन्त्री र मुख्यमन्त्री उत्पादन गर्ने कारखाना जस्तै देखियो । प्रदेशको आन्तरिक आयले चालू खर्चलाई ३ महिना पनि धान्दैन । आवश्यकता र औचित्यविनै प्रदेश मन्त्रालयको संख्या बढाएर राज्य कोष दोहन भएको गुनासो छ ।

एउटा मन्त्रालय फुटाउँदा प्रदेशलाई वार्षिक ३ करोडभन्दा बढी आर्थिक भार थपिन्छ । शंकर पोखरेलपछिको कूलप्रसाद केसी नेतृत्वको लुम्बिनी सरकारलाई वार्षिक ४४ करोड व्ययभार थपिएको थियो ।

सरकार जोगाउन र नयाँ सरकार बनाउन जथाभावी मन्त्रालय फुटाउँदै मन्त्री थप्दा राज्यलाई आर्थिक भार बढेको आर्थिक विश्लेषक मनिकर कार्की बताउँछन् ।

‘समतामूलक र न्यायोचित विकासका लागि ल्याएको संघीयता नेता व्यवस्थापनको माध्यम बन्यो,’ कार्की भन्छन्, ‘यसको मोडालिटीमा परिवर्तन नगरे संघीयता कमजोर हुन्छ । फेरि संघीयताबाट पछाडि फर्किएर केन्द्रीकृत शासन सत्ता सञ्चालनको अभ्यासतर्फ लम्किए दुर्घटनाको जोखिम पनि हुन्छ ।’

मन्त्रालय फुटाएर कार्यालय नपुग्दा वडा कार्यालयमा मन्त्रालय व्यवस्थापन गर्न बाध्यता आइपरेको छ ।

नवनियुक्त मुख्यमन्त्री चौधरीको शपथ ग्रहण समारोहमा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले समेत छिटोछिटो फेरिने मुख्यमन्त्री र मन्त्रीहरूको लस्कर देखेर आफू समेत जनताले दिक्क मानेको बताए ।

प्रदेश प्रमुख शेरचनले भने, ‘यस्तो घिसिपिटे तालले कसरी यो संरचना बलियो हुन्छ ? कहिले कसको दाबी भनेको छ, कहिले कसको दाबी भनेको छ । मुख्यमन्त्री पनि फेरिएको फेरियै, मन्त्री पनि फेरिएको फेरियै, मलाई त वाक्क लाग्यो । कसरी स्थिरता र देशको विकास हुन्छ ?’ शेरचनले यसो भनिरहँदा नेता/सांसदहरू गम्भीर समेत देखिएका थिएनन् ।
लोकान्तरबाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित