
बुटवल । ग्रील तथा स्टिल व्यवसायीहरुले प्रहरी प्रशासनबाट अब्यवहारिक तर्क अघि सारेर दुख दिने र बढी जरिवाना असुल्ने काम भएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखको स्वागत तथा सम्मानमा व्यवसायीहरुले कोरोना महामारीको असर र आर्थिक मन्दीका कारण व्यवसाय संकटमा परेको गुनासो गर्दै व्यवसायीहरुका व्यवहारिक पक्षलाई हेरेर सहयोग गरिदिन अनुरोध समेत गरेका छन् ।
ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले गरेको कार्यक्रममा संघका संस्थापक अध्यक्ष अशोक वर्माले विशेष गरी ग्रील व्यवसायमा तयारी सामान र कच्चा पदार्थ ढुवानीका क्रममा ट्राफिक प्रहरीबाट समस्या हुने गरेको गुनासो गर्दै यसको स्थायी समाधान चाहेको बताए ।
ग्रीलजन्य सामानको लम्बाई धेरै हुने तर ढुवानी गर्ने साधनको बनोट सानो हुंदा ट्राफिक प्रहरीले रोकेर बढी जरिवाना असल्ने, ओभरलोड बोकेको आरोप लगाएर दुख दिने जस्ता समस्या रहेको हुंदा ट्राफिक प्रहरीले व्यवहारिक पक्ष हेरेर सहजिकरण गरिदिनुपर्ने वर्माले अनुरोध गरे ।
यस्तै संघका अध्यक्ष मोहन भट्टराई, सल्लाहकार भुवन ज्ञवाली,महासचिव ध्रुवमणि ज्ञवालीले पनि व्यवसायीले भोग्नु परेका समस्यामा प्रहरी प्रशासनको सहयोग र सहकार्यको अपेक्षा गरे ।
सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले ओभरलोड, मापसे र तीब्र गति दुर्घटनाको मुख्य कारण भएको उल्लेख गर्दै कार्यालय समयको पिक आवरमा ढुवानी नगर्न र ढुवानीका साधन भन्दा बाहिर आउने सामानमा रातो कपडा अनिवार्य राख्न सुझाव दिए ।
व्यवसायीहरुका व्यवहारिक कठिनाईमा लचक हुन तयार रहेको तर ट्राफिक नियम र कानुनलाई बेवास्ता गर्न नमिल्ने प्रसाईले बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले व्यवसायीले काम गर्दा ग्राहकसंग सम्झौता गरेर वा चेक लिएर काम गरे कारोबार सुरक्षित हुने सुझाव दिए । अपराध नियन्त्रण र व्यावसायिक बाताबरण बनाउन व्यवसायीसंग सहकार्य गर्न तयार रहेको उनले बताए ।