
रुपन्देही । सत्तारुढ ८ दलीय गठबन्धनले लुम्बिनीका सांसदहरुलाई राष्ट्रपति निर्वाचनमा मतदानका लागि २३ गते काठमाडौं पुग्न निर्देशन गरेका छन् ।
शुक्रबार राजधानी राप्ती उपत्यकामा प्रशिक्षणमूलक कार्यक्रम गर्दै फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई ध्यान दिएर प्रदेश सांसदलाई २३ गते काठमाडौं पुग्न निर्देशन दिइएको हो । नयाँ बनेको ८ दलीय गठबन्धनभित्र विश्वासको वातावरण कायम गर्दै निर्वाचनमा इमानदारी आवश्यक पर्ने दलका नेताहरूको भनाइ छ ।
अभिमुखीकरणलाई सम्बोधन गर्ने अन्य दलका नेताले गठबन्धनभित्र विश्वास कायम हुनुपर्ने धारणा व्यक्त गरेका थिए । लुम्बिनी प्रदेशमा रहेका ८७ सांसदहरुमध्ये एमालेका २९ र राप्रपाका ४ सांसदहरु अहिलेको गठबन्धन बाहिर छन् । दुई स्वतन्त्र सांसद अझै खुलेका छैनन् ।
प्रशिक्षणमा दलहरुले जातका आधारमा, एनजीओ, आईएनजीओको नाममा सांसदलाई अल्मल्याउन खोजिए सर्तकता रहन निर्देशन दिँदै राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदारलाई मतदान गर्न निर्देशन गरेका हुन् । एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेकाले केही जनजातिका मत क्रस हुनसक्ने आशंका दलहरुमा रहेको छ ।
नेकपा माओवादी सचिव चक्रपाणि खनालले नेपाली कांग्रेस सुझबुझपूर्ण रूपमा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको र सत्तारुढ दलको समर्थन रहेकाले ८ दलका सबै सांसदहरुले पौडेललाई मतदान गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्बर पुनले सबै सांसदहरुलाई २३ गते नै काठमाडौँ पुगिसक्नुपर्ने बताएका छन् । गोप्य मतदान भए पनि कसैको प्रलोभनमा नपर्नसमेत उनले सांसदहरूलाई आग्रह गरेका छन् । प्रशिक्षणमा मत बदर हुन पनि सिकाइएको छ । मतपत्रमा यसपालि स्वस्तिक छापले संकेत गर्नुपर्ने छ । अहिले त उम्मेदवारको फोटो पनि भएकाले मत संकेत गर्न सहज हुने जानकारी दिइएको छ ।
संवैधानिक मर्यादाभित्र रहने व्यक्तिलाई राष्ट्रपति पदमा निर्वाचित गरिनुपर्ने नेपाली कांग्रेसका प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताए । उनले गठबन्धनमा रहेका सांसदहरुको मत दायाँवायाँ नहुने उनको भनाइ छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले संविधान रक्षाका लागि सही व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गरिनुपर्ने भएकाले ८ दलीय गठबन्धन निर्माण भएको र सोही अनुसार मतदान गर्नुपर्ने बताए ।
अभिमुखीकरणमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीका सांसदहरुको सहभागिता थियो ।