
बुटवल । नेपालमा १० बर्ष शसस्त्र द्वन्द्व भयो ।
१७ हजारले ज्यान गुमाए, हजारौ अंगभंग भए, कतिका सन्तान बेपत्ता पारिए ।
१० बर्षे जनयुद्ध पछि विस्तृत शान्ती सम्झौता भयो । देशमा लोकतन्त्र, गणतन्त्र आयो ।
तीन तहका सरकार बने । देश अहिले समृद्धिको अभियानमा छ । तर त्यहि द्वन्द्वको समयमा बेपत्ता पारिएका छोराको आशमा सैनामैना बासगढिकी ७२ बर्षिय तुल्सा पाण्डे बसिरहेकी छिन् ।
रुपन्देहीको सैनामैना स्थित बासगढि चोकबाट ३ सय मिटर भित्र गएपछि तुल्सा पाण्डेका घर छ । २०४५ सालमा गुल्मीको बाँझखर्कबाट तराई झर्नुभएकी तुलसाका श्रीमान् झविन्द्रको ०४४ सालमै हृदयघातबाट मृत्यु भयो ।
देशलाई परिर्वतन गर्ने भन्दै द्वन्द्वमा होमिएका तुल्साका जेठो छोरा दुर्गा र कान्छो छोरा युवराज अहिले साथमा छैनन । ०६० साल असोज १९ गते लुम्बिनीको सुन्डिया बाट पुलिसको गिफरतारीमा परेका युवराजको अहिले सम्म सास, लास केही पत्ता लागेको छैन् । तुल्सा कान्छो छोरा आउने आशामा १९ बर्ष देखि बसेकी छन् ।
कान्छो छोरा बेपत्ता भएको ५ महिनामै तुल्साका जेठा छोरा दुर्गा नेपाली सेनाबाट मारिए ।
सैनामैनाकै सेरुवामा ०६० साल फागुन १७ गते दुर्गालाई गोली हानी आर्मीले हत्या गरेको थियो । दुई सन्तान द्वन्द्वमा गुमाएकी तुल्साको घर अहिले सुनसान भएको छ । द्वन्द्वमा हतियार उठाएका माओवादी सत्तामा पुगेपनि शहिद तथा बेपत्ता परिबारहरुलाई केही सुविधा दिनुपर्ने माग तुल्साको छ ।
अभाव र शोकका बीच सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका छोराहरूको सम्झनामा कल्याणकारी तुल्साले काम गरेकी छिन् । बासगढि बाट ३ सय मिटर अगाडि ‘शहीद तथा बेपत्ता स्मृति गेट’ तुल्साले छोरोको नाममा ३ लाखको लगानीमा तयार पारेकी छिन् ।
छोराहरु साथमा नभएपनि स्मृतिलाई ताजा बनाउन शहिद गेट बनाउनुभएकी तुल्सा अझै छोरा आउने आशमा अझै कति बर्ष सम्म रुदै कुर्नुपर्नेको थाहा छैन् ।