उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’ चुन्नप्रसाद शर्मा पौडेलः सफल व्यवसायीदेखि पहिलो पटक उम्मेदवार सम्म — संघर्ष, सफलता र सार्वजनिक यात्राको कथा विष्णु पौडेलको प्रतिबद्धता पत्र : कालीगण्डकी तिनाउ डाइभर्सन शुरू गर्नेदेखि एकीकृत सहरी पूर्वाधार निर्माणसम्म गुल्मीका ६१ हजार घरधुरीमा विद्युत सेवा, ९९ प्रतिशत विद्युतीकरण टप हाइड्रो–मेकानिकल इन्जिनियर सुरज पाण्डे रुपन्देही–२ बाट निर्वाचनमा                
समाचार :

संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय

  • पुरानो संघर्षको अनुभव र नयाँ पुस्ताको आकांक्षा जोड्दै प्रतिनिधिसभा निर्वाचन २०८२ मा उभिएका युवा नेता
  • रुपन्देही–२ मा प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा राजनीतिक बहस केवल दलगत प्रतिस्पर्धामा सीमित छैन, बरु पुस्तान्तरण, नेतृत्व शैली र विकासको नयाँ दृष्टिकोणतर्फ केन्द्रित हुँदै गएको छ । यही परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनका चर्चित व्यक्तित्व भक्तिप्रसाद पाण्डे ‘चाचा’ का सुपुत्र विश्वदीप पाण्डे चुनावी मैदानमा उभिएका छन् ।

    राजनीतिक विरासत बोकेर आएका विश्वदीप आफूलाई केवल इतिहासको उत्तराधिकारी नभई नयाँ समयको आवश्यकता अनुसार राजनीतिक अभ्यास गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् । उनका समर्थकहरूका अनुसार उनले साहस, इमान्दारिता र सिद्धान्तनिष्ठ राजनीतिको परम्परालाई आधुनिक दृष्टिकोणसँग जोड्ने प्रयास गरिरहेका छन् ।

    राजनीतिक वातावरणमै हुर्किएको बाल्यकाल

    २०४३ असोज १२ मा जन्मिएका विश्वदीपको स्थायी घर रुपन्देहीको सैनामैना–१, बनकट्टा हो । जन्मेको केही महिनामै अर्घाखाँचीबाट रुपन्देही बसाइँ सरेको पाण्डे परिवार राजनीतिक सक्रियताका कारण चिनिन्थ्यो ।

    बाल्यकालदेखि नै उनको जीवन राजनीतिक चेतनाले घेरिएको थियो । घरमा हुने छलफल, आन्दोलनका अनुभव र जनजीवनका विषयले उनलाई सानैदेखि समाज र राज्यबारे सोच्न प्रेरित गर्‍यो । पञ्चायतकालदेखि जनयुद्धसम्म सक्रिय रहेका ‘चाचा’ले मजदुर आन्दोलन, सुकुम्बासी अधिकार र सामाजिक न्यायका मुद्दामा खेलेको भूमिकाले विश्वदीपको सोच निर्माणमा गहिरो प्रभाव पारेको देखिन्छ ।

    बुटवलस्थित लुम्बिनी तथा नमूना बोर्डिङ स्कूलबाट विद्यालय शिक्षा पूरा गरेका उनले काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक अध्ययन गरे । अध्ययनसँगै लेखन, अनुसन्धान र संगठन निर्माणमा उनको सक्रियता बढ्दै गयो ।

    संक्रमणकालीन राजनीतिबाट आर्जिएको अनुभव

    विश्वदीपको राजनीतिक यात्रा औपचारिक पदभन्दा पहिले अनुभवबाट सुरु भएको देखिन्छ । माओवादी र सात दलबीच भएको ऐतिहासिक १२ बुँदे समझदारी, दोस्रो जनआन्दोलन तथा शान्ति प्रक्रियाका संवेदनशील क्षणहरूमा उनले शीर्ष नेतृत्वसँगै काम गर्ने अवसर पाए ।

    राजनीतिक संक्रमणकालका कठिन संवाद र वार्तामा सहभागी हुँदा उनले समन्वय, सहकार्य र समझदारीको अभ्यास सिके । यही अनुभवलाई उनी आजको विभाजित राजनीतिक वातावरणमा उपयोगी पूँजी मान्छन् ।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा लामो समय काम गर्दै उनले अर्थमन्त्री तथा प्रधानमन्त्रीको स्वकीय सचिव र सल्लाहकारको भूमिका निर्वाह गरे । त्यसैगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पछिल्लो सरकारमा युवा तथा सामाजिक विकास विज्ञका रूपमा काम गर्दै नीति निर्माण प्रक्रियाको प्रत्यक्ष अनुभव हासिल गरे ।

    हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग सदस्य रहेका उनी संगठनात्मक राजनीतिमा सक्रिय छन् ।

    अन्तर्राष्ट्रिय मञ्चदेखि स्थानीय राजनीति

    विश्वदीपले राष्ट्रिय राजनीतिसँगै अन्तर्राष्ट्रिय अनुभव पनि सँगालेका छन् । दुबईमा आयोजित ‘कोप–२८’ सम्मेलन, चीनको एशियाली खेलकुद उद्घाटन समारोहलगायत कार्यक्रममा नेपाल सरकारको प्रतिनिधिमण्डल सदस्यका रूपमा सहभागी भएका उनले विश्व राजनीति, विकास मोडल र कूटनीतिक अभ्यास नजिकबाट हेर्ने अवसर पाए ।

    अमेरिका, युरोप, अष्ट्रेलिया, भारत, चीन लगायतका देशको भ्रमणले विकास र प्रशासनका विभिन्न अभ्यास बुझ्न सहयोग पुगेको उनी बताउँछन् । डिजिटल अभियान, संगठन विस्तार र जनसम्पर्कमा दक्ष युवा नेताका रूपमा उनको पहिचान बनिरहेको छ ।

    पुस्तागत समन्वयको ‘सेतु’

    नेपालको राजनीतिक यात्रा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नयाँ चुनौती देखिएको छ—अनुभव र आकांक्षाबीचको दूरी । पुरानो पुस्ताको संघर्ष र नयाँ पुस्ताको अपेक्षाबीच संवाद आवश्यक रहेको विश्वदीपको धारणा छ ।

    पाको पुस्तासँग काम गरेको अनुभव र जेन–जी पुस्तासँग सहकार्य गर्ने शैलीका कारण उनी आफूलाई पुस्तागत समन्वयको स्वाभाविक सेतुका रूपमा प्रस्तुत गर्छन् । प्रधानमन्त्री तथा अर्थमन्त्री कार्यालयदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको अनुभवले जनता र राज्यबीचको दूरी घटाउन सक्ने विश्वास उनी व्यक्त गर्छन् ।

    शिक्षा र स्वास्थ्य : सामाजिक विकासको आधार

    चुनावी प्रतिबद्धतामा उनले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् । सामुदायिक विद्यालयको पूर्वाधार सुधार, विद्यार्थी सङ्ख्याअनुसार शिक्षक दरबन्दी, व्यवहारिक रूपमा निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन गर्ने योजना उनले अघि सारेका छन् ।

    बुटवल बहुमुखी क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै स्नातकोत्तर, एमफिल र पीएचडी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य पनि उनले राखेका छन् । प्राविधिक शिक्षामा जोड दिँदै अटो इन्जिनियरिङ कलेज स्थापना र बहुप्राविधिक शिक्षालयको स्तरोन्नति गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

    स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अस्पताल बनाउने, क्यान्सर उपचार सेवा विस्तार गर्ने तथा प्रत्येक वडामा आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउने योजना उनका प्रमुख एजेन्डा हुन् । दीर्घरोगको निःशुल्क उपचार र स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

    युवा केन्द्रित विकास र रोजगारी

    युवा पलायन रोक्ने लक्ष्यसहित उनले बहुआयामिक रोजगारी कार्यक्रम ल्याउने घोषणा गरेका छन् । “मेरो देश, मैले मेरै पालामा बनाउँछु” भन्ने अभियानमार्फत युवामा जिम्मेवारीबोध जगाउने उनको योजना छ ।

    खेलकुद पूर्वाधार निर्माण, राष्ट्रिय स्तरको रंगशाला, कवर्ड हल तथा स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि उनले अघि सारेका छन् । विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै युवालाई सफ्टवेयर तथा डिजिटल उद्यमतर्फ आकर्षित गर्ने प्रतिबद्धता उनको घोषणापत्रमा समावेश छ ।

    समावेशी समाज र आधुनिक पूर्वाधारको दृष्टि

    लैंगिक समानता, सामाजिक समावेशिता र हिंसामुक्त समाज निर्माणलाई उनले विकासको आधार मानेका छन् । विपन्न वर्गका लागि सामुदायिक आवास, अपाङ्गता भएका व्यक्तिका लागि सीप विकास कार्यक्रम र सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र निर्माण गर्ने योजना उनले अघि सारेका छन् ।

    भौतिक पूर्वाधारतर्फ आधुनिक सडक सञ्जाल, स्मार्ट पार्किङ, डिजिटल सेवा प्रवाह, आधुनिक बसपार्क, नदी व्यवस्थापन र हरित क्षेत्र विकास उनका दीर्घकालीन योजनामा छन् । तिनाउ नदी क्षेत्रमा जलयातायात सञ्चालन गर्दै पर्यटन प्रवर्द्धन गर्ने तथा ऐतिहासिक स्थल संरक्षणमार्फत पर्यटन हब निर्माण गर्ने अवधारणा पनि उनले प्रस्तुत गरेका छन् ।

    ‘डेलिभरी’ केन्द्रित राजनीतिक दाबी

    विश्वदीप पाण्डे आजको राजनीतिमा विचार मात्र पर्याप्त नभई परिणाम देखाउनुपर्ने आवश्यकता रहेको बताउँछन् । राज्य संयन्त्रमा आर्जित अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध र स्थानीय जनसम्पर्कलाई जोड्दै विकासको ‘डेलिभरी’ दिने क्षमता आफूमा रहेको उनको दाबी छ ।

    रुपन्देही–२ मा उनको उम्मेदवारीलाई कतिपयले राजनीतिक पुस्तान्तरणको संकेतका रूपमा हेरेका छन् । पुरानो संघर्षको विरासत र नयाँ पुस्ताको आकांक्षाबीच सन्तुलन कायम गर्न सक्ने नेतृत्व खोजिरहेका मतदाताका लागि विश्वदीपको परीक्षण अब निर्वाचनमार्फत हुनेछ ।

     

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित