
कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने बताए पनि कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले भने अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्री फेर्ने बताएका थिए । उनले त्यसपछि पनि मन्त्री फेर्नेबारे चर्चा गर्दै आएका छन् ।
नेपाल प्रेस युनियन रूपन्देहीले बुधबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ । तर, मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ । मन्त्रीहरू तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’
गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने बताए । ‘कोशीमा यसअघि पनि यस्तै भएको थियो,’ मन्त्री गुरुङले भने, ‘गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको छ । गठबन्धनमा आशंका जन्माए पनि यसको च्याप्टर छिटै क्लोज हुन्छ ।’
संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउनेगरी आफू क्रियाशील रहेको उनले बताए । ‘मैले प्रमुख तीन दलका तीन नेताहरूलाई नैं यो तपाईहरूको विषय हो भन्दै आएको छु,’ उनले भने, ‘यसमा केही विषयमा मात्रै मतभिन्नता छ । अब टुंगोमा पुग्नुपर्छ ।’
सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने मन्त्री गुरुङको भनाइ छ । हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको मन्त्री गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङले देशको आर्थिक संकट तंग्रिँदै गएको बताउँदै श्रीलंकाजस्तो अवस्था पुग्ने भनेर गरिएका प्रचार अनावश्यक भएको बताए । ‘देशको अर्थतन्त्री लयमा फर्किँदै छ । हिजोको जटिलता हटिसक्यो अब अफ्ठ्यारो परिस्थिति छैन,’ उनले भने ।
कांग्रेसका भ्रातृ संगठन भद्दा र ठूला बनेको भन्दै भीड बढाउँदै पार्टी बन्न नसक्ने उनले बताए । पार्टीमा गुटगत प्रतिस्पर्धा बढ्दा संगठन भद्दा बन्न पुगेको उनको भनाइ छ ।