बुटवल । निवर्तमान मुख्यमन्त्री तथा यसक्षेत्रका प्रदेश सभा सदस्य, एमाले संसदीय दलका नेता लिला गिरीले कृषिबाटै आयात घटाउने, निर्यात् बढाउने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सकिने सम्भावना रहेको बताएका छन् ।
यसक्षेत्रको अब्बल र उत्कृष्ट सामूहिक विकास बचत तथा ऋण बहुउद्देश्यीय सहकारीको साधारणसभाको उद्घाटन गर्दै नेता गिरीले तीन खम्बे अर्थनीति र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
कैयन सहकारी तथा वित्तीय संस्थाहरुमा अपचलन भएका, सञ्चालकहरु भागेका, कालो सूचिमा परेका र जनताको बचतको दुरुपयोग भइरहेको गुनासो सुनिएको बताउँदै नेता गिरीले सामूहिक सहकारी भने अलग पहिचानका साथ सुरक्षित र स्तरीय वित्तीय संस्थाका रुपमा स्थापित भएको उल्लेख गरे ।
‘नेपालको दिगो र प्रमुख निर्यातजन्य वस्तु कृषि उत्पादन नै हो । यस क्षेत्रमा नेपालको कुल जनसंख्याको ठूलो जनशक्ति आश्रित छ ।
यद्यपि, केही वर्षदेखि किसान यस क्षेत्रबाट पलायन हुँदै सेवा र औद्योगिक क्षेत्रको रोजगारीमा भौँतारिन थालेका बेलामा राज्यले नै स्पष्ट नीति बनाएर कृषिको विकासमा ध्यान दिनुपर्छ, कृषिबाटै उत्पादन बढाउने, सहकारीका माध्यमबाट बजारीकरणको प्रबद्र्धन गर्ने, रोजगारी बृद्धि गर्ने जस्ता कैयन सफल उद्यम गर्न सकिन्छ’ नेता गिरीको भनाइ छ ।
कृषि क्षेत्रको प्रभावकारी विकासका लागि हाम्रो साधन र स्रोतलाई पूर्ण रूपमा परिचालन गर्न कृषि अनुसन्धान एवं विस्तार र स्रोतहरूको प्रभावकारी प्रयोग गर्ने योजनालाई कार्यान्वयन गर्नुपर्ने नेता गिरीले बताए ।










