
प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारवाहीको दायरमा ल्याउन सरकासँग माग गरेका छन् ।
विमानस्थलको अधिग्रहणमा परेको जमिन व्यक्तिका नाममा लैजाँदा मालपोत कार्यालयले मुआब्जा वितरण समितिका संयोजकसमेत रहने प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग कुनै परामर्श नलिएको पाइएकोले यसमा ठूलो आर्थिक चलखेल भएको हुनसक्ने उनले उल्लेख गरे । ‘हदबन्दीमा परेको जग्गा फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता नरहेकोमा भूमाफियाको योजनामा मालपोत कार्यालयले व्यक्तिको नाममा सारिदिएको बुझ्न सकिन्छ’, सांसद घिमिरेले भने ।
लालपूर्जा पाएपछि आफ्नो जमिन विमानस्थलले अधिग्रहण गरेको दाबी गर्दै ९ करोड बढी मुआब्जाका लागि व्यक्तिको तर्फबाट विमानस्थल आयोजना कार्यालयमा निवेदन परेपछि यो घटना सार्वजनिक भएको हो । मुआब्जा वितरण समितिले सो जग्गाको मुआब्जा दिन नसकिने निर्णय गरिसकेको छ ।
सेटिङ्गमा हुने अवैध आयात रोक्न सरकारको ध्यानाकर्षण
यसैबीच प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले भारतीय सीमा नाकाबाट सेटिङ्गमा हुने अवैध आयात रोक्न सरकारको ध्यानाकर्षण गराए । मंगलबार संसद बैठकको विशेष समयमा बोल्दै उनले व्यापारीको मिलेमतो र सेटिङ्गमा हुने अवैध आयातलाई रोक्न सरकारसँग माग गरे ।
‘एकातिर सर्वसाधारण जनतालाई एक सय रुपैंयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार गर्न लगाउने अर्कोतर्फ लाखौं मूल्यका सामान विनाभन्सार नेपाल भित्राउने गिरोहलाई रोक्न नसक्ने प्रवृत्तिले न राजस्वमा वृद्धि हुन्छ, न उपभोक्तालाई राहत नैं’ सांसद घिमिरेले भने, ‘यसर्थ सेटिङ्गमा हुने अवैध आयातमा रोक्न गर्न म सभामुखज्यूमार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’
केही समयदेखि भारतीय सीमावर्ती बजारबाट सर्वसाधारण उपभोक्ताले एक सय रुपैंयाँभन्दा बढीका सामान भन्सारविना नेपाल ल्याउन पाउँदैनन् । नेपालको आन्तरिक व्यापार व्यवसाय प्रवद्र्धनको लागि यो नियमलाई नकारात्मक भन्न मिल्ने अवस्था नरहे पनि यो नियमपछि सीमा नाकामा सेटिङ्गमा हुने अवैध आयात बढेको जानकारहरु बताउँछन् ।
सांसद घिमिरेले भारत तर्फबाट क्यारिङ्गको नाममा हुने सेटिङ्गमा ठूलो परिमाणका सामान भन्सारविना नेपाल आउने गरेका उल्लेख गरे । यसमा भन्सार कार्यालयका कर्मचारी र प्रहरीको समेत मिलेमतो रहेको बुझ्न कठिन नरहेको बताउँदै उनले अचेल भारतीय बजारमा नेपालीहरुले सामान खरिद गरेपछि त्यसलाई खरिदकर्ताको घर घरसम्म पुर्याउने गिरोह सक्रिय भएको पाइएको बताए ।