
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ ।
बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेले भने भाग लिएन ।
प्रमुख प्रतिपक्ष दलका सांसदलाई बोल्न सयम दिए पनि एमालेका प्रदेश सभा सदस्यहरूले छलफलमा सहभागिता जनाएनन् । छलफलमा सत्तारुढ दलका बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत र तारा थापाले सहभागिता जनाउँदै बजेटको बचाऊ गरेका थिए ।
असार १ गते सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट ल्याएको थियो । बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक ३ पटकसम्म स्थगित गरिएको थियो । बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै निर्देशनालय खारेज गर्ने निर्णयबारे अध्ययन गर्न समिति बनेको र सो आधारमा कार्यान्वयन गरिने बताए ।
मन्त्री मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेक पेश गरे । प्रदेश सभाको अर्को बैठक मंगलवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।