
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनमा मिश्रित परिणाम आएको छ । सभापतिमा भने एमाले निकट अनेरास्ववियुले बर्चस्व कायम गरेको छ ।
पश्चिम क्षेत्रकै ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । कुल ७ हजार १ सय १० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।
अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गाबहादुर एमसीले १ हजार २ सय १४ मत पाएर विजयी भए भने निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६ सय ३५ मत पाए । नेपाल विद्यार्थी संघका सागर पौडेल ४ सय ७४ मतसहित तेस्रो भए ।
त्यस्तै, सचिव पदमा अनेरास्ववियुका उम्मेदवार निलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल विजयी भएका छन् ।
यस्तै, सदस्य पदमा पनि अनेरास्ववीयुका नवीन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमलकुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएका छन् ।
बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ ।
यता, यज्ञोदय दूधानाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन रुपन्देहीको स्ववियु सभापतिमा महेश चौधरीसहित नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ । चौधरीले ४ सय ३ मत ल्याएर विजयी हुँदा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त उम्मेदवार समुन्द्र बगाले रेग्मीले १ सय ८१ मत प्राप्त गरे ।
सचिवमा आदेश राना ३ सय ९० मत प्राप्त गरी विजयी भएका छन् । संयुक्त प्यानलको तर्फबाट सचिवका उम्मेदवार अखिल ढकालले १ सय ८७ मत प्राप्त गरे । त्यस्तै, कोषाध्यक्षमा रामनाथ यादव ३ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै, सदस्यहरुमा आनन्द तिवारी, सागर सारु मगर, हरिप्रसाद खनाल, निशादेवी थारु र राजन खनाल निर्वाचित भएको निर्वाचन समिति संयोजक भीमप्रसाद सापकोटाले बताए । संयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै एक्लै प्रतिस्पर्धामा उत्रिएको नेविसंघको प्यानल नै निर्वाचित भएको नेविसंघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेले बताए । ६ सय ८५ जना विद्यार्थी अध्ययनरत रहेको यज्ञोदय दूधानाथ थारु बहुमुखी क्याम्पसमा ५ सय ९१ मत खसेको थियो ।
यस्तै रुपन्देहीको कञ्चन गाउँपालिका–३ हरैयामा रहेको हरैया बहुमुखी क्याम्पसमा एमाले सम्बद्ध अनेरास्ववियु, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट सभापति पदमा २ सय २२ मत ल्याएर प्रदिप शर्मा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुनिल रानाले १ सय ९९ मत प्राप्त गरे ।
त्यस्तै, संयुक्त प्यानलकै अनिलकुमार गुप्ता सचिव पदमा २२० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेविसंघका रुपेशकमार यादवले १ सय ९९ मत प्राप्त गरे । संयुक्त प्यानलबाटै कोषाध्यक्षमा जीवनकुमार धवलले २ सय २१ मत ल्याइ जिते भने नेविसंघकी रेखा प्रजापतिले २ सय ८ मत प्राप्त गरिन ।
गुल्मीमा अखिल पहिलो, क्रान्तिकारी दोस्रो, नेविसंघ तेस्रो
स्ववियु चुनावमा गुल्मीका क्याम्पसहरुमा अनेरास्ववियू पहिलो भएको छ । जिल्लाका ११ क्याम्पसमध्ये ५ क्याम्पसमा अनेरास्ववियुले सभापति पद जितेर पहिलो भएको हो ।
दोस्रोमा अखिल (क्रान्तिकारी) र तेस्रोमा नेविसंघ रहेका छन् । अखिल (क्रान्तिकारी)ले ४ क्याम्पसमा जितेको छ भने नेविसंघले २ क्याम्पस जितेको छ ।
अनेरास्ववियु र क्रान्तिकारीले जितेका क्याम्पसमध्ये अधिकांशमा सहमतिका आधारमा स्ववियुको नेतृत्व चयन भएको छ । जम्मा ३ वटा क्याम्पसमा चुनाव भएको थियो । सहमतिका आधारमा अनेरास्ववियुबाट मानका टिकराम क्याम्पसमा आकाश खरेल, सत्यवती क्याम्पसमा अस्मिता भण्डारी, दिगाम आदर्श क्याम्पसमा श्रीधर अर्जेल, रुद्रावती बहुमुखी क्याम्पसमा अनिश पाठक र रिडी क्याम्पसमा गंगा कुँवर सभापतिमा निर्वाचित भएका छन् । यीमध्ये रुद्रावतीमा मात्र निर्वाचनबाट नेतृत्व चयन भएको हो । रिडी र दिगामबाहेक अन्य सबै क्याम्पसमा अन्य विद्यार्थी संगठनसँग गठबन्धन छ ।
त्यस्तै, अखिल (क्रान्तिकारी)बाट चन्द्रकोट बहुमुखी क्याम्पसमा प्रभा पौडेल, धुर्काेट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा इन्द्र पोखरेल, जनज्योति क्याम्पसमा जीवन पौड्याल र श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा विशाल थापा सभापतिमा निर्वाचित भएका छन् । क्रान्तिकारीले जितेकामध्ये श्रृङ्गेश्वरमा मात्र निर्वाचन भएको हो । अन्यमा विभिन्न संगठनसँग गठबन्धन छ ।
नेविसंघले जिल्ला सदरमुकामको रेसुङ्गा बहुमुखी क्याम्पस र रुरु संस्कृत विद्यापिठमा सभापति जितेको छ । रेसुङ्गामा निर्वाचन प्रक्रियाबाट वाम गठबन्धनलाई हराएर नेविसंघका पुनाराम घिमिरेको प्यानल नै विजयी भयो । रुरुमा भने नेविसंघ र अखिलको सहमतिमा नारायण पन्थीको सभापतित्वमा स्ववियु गठन भएको छ ।
रोल्पामा अखिल र क्रान्तिकारी
पश्चिम रोल्पाको जुगारमा रहेको नवनेपाल क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट एमाले अखिलको नेतृत्वमा रहेको गठबन्धनले विजयी प्राप्त गरेको छ ।
मुख्य पदमा २० मतको अग्रतासहित पदाधिकारी निर्वाचित भएको क्याम्पसले जनाएको छ । स्ववियु सभापतिमा अखिलका एकराज डाँगी निर्वाचित भएका छन् । उक्त क्याम्पसमा एमाले अखिल र नेपाल विद्यार्थी संघबीच गठबन्धन भएको थियो । उक्त गठबन्धनले माओवादी केन्द्र र नेत्रविक्रम चन्दनिकट क्रान्तिकारी विद्यार्थीबीचको गठबन्धनलाई हराएको हो । चन्दनिकट खुमराज थापाको टिम पराजित भएको हो । सबै मतदाता २ सय ७६ मध्ये २ सय २० मत खसेको थियो ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत धनबहादुर वलीले बताए ।
यसैगरी रोल्पाको सदरमुकाम लिवाङस्थित जलजला बहुमुखी क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट अखिल क्रान्तिकारीको टिम विजयी बनेको छ । १५ मतको अग्रतामा एमालेनिकट अनेरास्ववियु, कांग्रेसनिकट नेविसंघ र जनमोर्चानिकट विद्यार्थी संगठनबीच बनेको गठबन्धनलाई हराउँदै माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीको टिम विजयी बनेको हो ।
जलजलाको स्ववियु सभापतिमा उमेश पुनसहितका पदाधिकारी निर्वाचित भएका छन् । मुख्य पदमा १५ मतको अग्रतासहित उम्मेदवारहरु विजयी भएका थिए । जलजलामा रहेका विद्यार्थी मतदातामध्ये करिब ८० जना निर्वाचनमा अनुपस्थित थिए ।
पाल्पामा अखिल र नेविसंघ दुई–दुई क्याम्पसमा विजयी
पाल्पाका ४ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा दुई वटामा एमाले निकट अनेरास्ववियु सर्वसम्मत रुपमा प्यानलसहित विजयी भएको छ भने एक वटामा भएको निर्वाचनमा नेविसंघ सहितको संयुक्त विद्यार्थी प्यानल विजयी भएको छ । एक वटामा ७ वटा विद्यार्थी संघठनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका छन् ।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा सहमतिमा स्ववियु पदाधिकारी चयन भएका छन् । सात विद्यार्थी संघ संगठनबीच भएको सहमतीअनुसार नेपाल विद्यार्थी संघले सभापति र दुई सदस्य, नेकपा एमाले निकट अनेरास्ववियुले उपसभापति, कोषाध्यक्ष र दुई सदस्य, अखिल क्रान्तिकारीले सचिव र पाँच सदस्य, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले सहसचिव र दुई सदस्य, राष्ट्रिय प्रजातान्त्रिक संगठन, अखिल छैठौँ, असंलग्न विद्यार्थी संगठनले एक एक सदस्य चयन भएका हुन् । तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियुको अध्यक्षमा कृष्ण अर्याल, उपाध्यक्षमा अमृत भट्टराई, सचिवमा ताराबहादुर रायमाझी, सह–सचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा सन्तोष पोखरेल निर्वाचित भएका निर्वाचन अधिकृत जीवन थापाले बताए ।
यसैगरी सदस्यहरूमा सुदर्शन पाण्डे, इन्दु थापा, मिस्मा राना, सुशिल बस्याल, भीम लुंगेली, सृष्टि राष्कोटी मगर, मिलन सारु, सुजिता राना, विज्ञान दूधराज, उज्ज्वल भट्टराई, तुषार कालिकोटा, अंशु ठडराई, विशाल विष्ट, प्रवेश अर्याल स्ववियु सदस्यमा चयन भएका छन् ।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा ईतिहास रचिएको छ, यस अघिका स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुबीच कडा प्रतिष्पर्धा हुँदै आएको यस पटक भने सबै विद्यार्थी संघ संगठनको सरसल्लाहमा सहमतीमा नेतृत्व चयन गरिएको निवर्तमान स्ववियु सभापती हरिवोल भट्टराईले बताए । अबका दिनमा स्ववियुमा निर्वाचित साथीहरुलाई काम गर्न सजिलो हुने उनले बताए । फागुन २७ गते एमाले निकट अनेरास्ववियुले विभिन्न मागहरु राख्दै स्ववियु निर्वाचन कार्यालय र क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेपछि निवर्तमान स्ववियु सभापतिको अग्रसरतामा सर्वसहमतीको प्रयास खोजिएको थियो । करीव एकहप्ता लामो गृहकार्यपछि सबै संघ संगठन स्ववियुमा प्रतिनिधित्व गर्न सहमत भएका हुन् ।
यसैगरी सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पाको स्ववियु निर्वाचनमा नेविसंघको नेतृत्वमा संयुक्त विद्यार्थी प्यानल विजयी भएको छ । सभापतिमा ल्याकत अली, सचिवमा रमेश पोखरेल र कोषाध्यक्षमा तिलक सारु निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ कसम मल्ल ठकुरी, अस्मिता खनाल, कविता राना, जयन्ती दर्जी, महेश राक्से निर्वाचित भएका छन् । सहिद बहुमुखी क्याम्पस रामपुरमा नेविसंघसहितको अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच प्रतिष्पर्धा भएको थियो । समानुपातिकतर्फ नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)ले संगठन दर्ता गराएका छन् । समानुपातिकतर्फ नेपाल विद्यार्थी संघले ३ सय २१, अनेरास्ववियुले २ सय ७६ र अनेरास्ववियु (क्रान्तिकारी ) ले ५१ मत प्राप्त गरेको छ । उपसभापति, सह–सचिवसहित ५० प्रतिशत पदाधिकारी समानुपातिक मतको आधारमा चयन हुनेछ ।
समानुपातिकतर्फ भने नेपाल विद्यार्थी संघले १०, अनेरास्ववियुले १० र अनेरास्ववियु(क्रान्तिकारी)ले ६ जनाको नामावली पेश गरेका छन् । जसमा नेविसंघ बाट ३ जना, अनेरास्ववियुबाट ३ जना र एक जना अनेरास्ववियु क्रान्तिकारी बाट निर्वाचित हुने छन् ।
उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियनमा एमाले निकट अनेरास्ववियुको प्यानल निर्विरोध निर्वाचित भएको छ । स्ववियु सभापतिमा केशव पंगेनी( सचिन) उप–सभापतिमा कमल बस्याल, सचिवमा कृष्ण झापार्लुक, सह–सचिवमा विनिता काम्मु, कोषाध्यक्षमा सविना पंगेनी, सदस्यहरुमा सरिता नेपाली, रमा घर्ती, हेमा हिस्की, विष्णु आचार्य( आकाश), संगिता आचार्य, नेत्रबहादुर पल्ली (अर्जुन) को प्यानल निर्विरोध चएन भएको निर्वाचन मण्डलका संयोजक सुशील न्यौपानेले जानकारी दिए ।
निर्वाचित टिमलाई उद्बुद्ध कलेजका प्रमुख हरिप्रसाद न्यौपाने, निर्वाचन मण्डल सांयोजक सुशील न्यौपने, प्राध्यापक अन्नत पाण्डे पूर्व स्ववियु सभापति जीवन आचार्य, निवर्तमान अध्यक्ष नवीन आचार्यले सफल कार्यकालको शुभकाना तथा बधाई दिएका थिए ।
माण्डव्य क्याम्पस, तानसेन–९ दमकडा, पाल्पामा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमाले निकट अनेरास्ववियुका सरोज अधिकारीको नेतृत्वमा सर्वसम्मत रुपमा प्यानल विजयी भएका छन् । माण्डव्य स्ववियु सभापतिमा सरोज अधिकारी, उप–सभापतिमा बिन्दु पल्ली, सचिवमा बन्दना सुनार, सह–सचिवमा अंकित ढकाल, कोषाध्यक्षमा विष्णु पोखरेल चयन भएका छन् । यसैगरी सदस्यमा बिन्दु भण्डारी, अमृता देवी बस्याल, कबिता भण्डारी र बन्दना पाण्डे चयन भएका छन् । दैनिक लुम्बिनी बाट