बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना हुन लागेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ ।
अहिले स्टल दर्ताको काम अन्तिम चरणमा पुगेको छ भने स्टल निर्माण एवं बालउद्यान निर्माणको काम भइरहेको छ ।
समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने नाराका साथ बुटवलस्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयां प्रविधि, पर्यटन तथा कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरूका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुनेछन ।
स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तीनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने प्रदर्शनीको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए ।

सो पटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियानलाई थप प्राथमिकताका साथ अगाडि बढाएको छ । प्रदर्शनीको मुख्य उद्देश्य नै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने भएकाले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश हुने अध्यक्ष पराजुलीको भनाई छ ।
संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ । प्रदर्शनी प्रबन्धक यादव भण्डारीले मेला सुरु हुने दिन नजिकिदै गर्दा तयारीलाई तीब्र पारिएको जानाकारी दिए ।
उनले भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुने र यसको सजावटदेखि व्यवस्थापन अहिले भइरहेको बताए ।
महोत्सव सफल बनाउन रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, साथै निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरिएको छ ।
यस वर्षको प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी र कन्फेक्सनरी, छाला उद्योग, खाद्यान्न, सूचना प्रविधि लगायतका क्षेत्र समेटिएका करिब ५०० स्टल रहनेछन । प्रदर्शनीलाई हेर्न ८ लाखभन्दा बढी दर्शक आउने र करिब ३० करोड रुपैयां बराबरको व्यवसाय हुने अनुमान गरिएको छ ।










