आज (मंगलबार, २१ असोज) दिउँसो तथा राति देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार,
आज दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाड भेगमा साधारणतया बदली रही बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभाग तथा बाँकी प्रदेशका पहाड भूभागका थोरै तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ।
आज राति : कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाड भेगमा साधारणतया बदली रही बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ।
मौसम महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ भने देशका बाँकी भूभागमा मनसुनी वायुको कमजोर प्रभाव छ।
मौसम महाशाखाले माथि ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।










