बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबल सडकखण्डमा पर्ने दाउन्ने क्षेत्रको सडकको दुरावस्थाले यात्रु र चालकहरुले निकै सास्ती पाए ।
नारायणगढ–बुटबलको ११३ किलोमिटर खण्डमध्ये अन्यत्र अधिकांश स्थानमा सडक कालोपत्रे भएर यात्रा सहज भए पनि दाउन्ने क्षेत्रमा पानी पर्नासाथ हिलो र पानी नपर्दा धुलोले सडक यात्रा निकै कष्टकर भयो । तर, अहिले भने दाउन्ने खण्डको यात्रा पनि सहज हुंदै गएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।
आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले दाउन्नेको १३ किलोमिटर सडकको कामलाई गति दिने र यात्रालाई सहज बनाउने काम भैरहेको बताए ।
दाउन्ने क्षेत्रको कूल १३ किलोमिटर सडकमध्ये ९ किलोमिटर पश्चिम खण्डमा ४ किलोमिटर पूर्वीखण्डमा पर्दछ । पूर्वीखण्डमा ४ किलोमिटर र पश्चिमखण्डमा ३ किलोमिटर ढलान गर्ने आयोजनाको तयारी छ ।
अहिलेसम्म पूर्वी खण्डको ४ किलोमिटरमध्ये ८ सय मिटर ढलान भइसकेको छ । ४ सय मिटर ढलानको तयारीमा छ । ८ सय मिटर लम्बाइमा ६।२५ किलोमिटर चौडाइमा करीव २ लेन ढलान भएको छ ।
अब थप १ लेन थपिने छ । दाउन्नेमा करिब १३ मिटर चौडाइको ढलान बनाउने सोच आयोजनाको छ । पश्चिम खण्डमा ३ किलोमिटर ढलान गर्ने भनिएकोमा १।३ किलोमिटर ढलान भएको छ ।
पश्चिम खण्डको ६ किलोमिटर कालोपत्रे गर्ने भनिएकोमा बर्दघाटबाट नारायणगढतर्फ ३।५ किलोमिटर कालोपत्रे भैसकेको छ । बांकी भाग कालोपत्रे गर्ने तयारी छ । पूर्वी खण्डको ४ किलोमिटरमा २२ सय मिटर मात्रै ढलान गर्ने कि पुरै ४ किलोमिटर नै ढलान गर्ने भन्ने विषय अझै टुंगो लाग्न बांकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।
दाउन्नेमा पहिले ढलान गर्ने डिजाइन थिएन । तर, सडकको सबैभन्दा संवेदनशील खण्ड भएकाले ढलान गर्ने सोचमा आयोजना पुगेको हो ।
२५ प्रतिशत कममा ठेक्का हालेको चिनियां ठेकदार कम्पनीलाई कम हालेको रकम उपलब्ध गराउने गरी ढलान गरेर सडक मजबुद बनाउने विषयमा आयोजनाले पहल गरिरहेको सूचना अधिकारी खनालले बताए ।










