ब्ुटवल । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि थप काम शुरु गरेको छ ।
गत आर्थिक वर्षमा नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने, अनुगमन गरी सम्भावित जोखिम न्युनीकरण गर्ने र अन्य सुरक्षाका उपायहरु अपनाउने गरेको थियो ।
चालु आर्थिक वर्षभरिमा के कस्ता काम गरेर पहिरोलाई रोक्न सकिन्छ भन्नेबारेमा प्राविधिकसहितको टोलीले अनुगमन गरेका छन् ।
चालु आर्थिक वर्षमा आवश्यक स्थानमा ग्याबिन जाली लगाउने, खोल्साहरु सफा गर्ने, पानीको बहावलाई व्यवस्थित गर्ने जस्ता काम गर्ने गरी बजेट विनियोजन भएको र सोही अनुसारको काम शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
उनका अनुसार पहिरोको जोखिम कम गर्न र स्थानीयलाई सुरक्षित बनाउनका लागि नगरको बजेटले थेग्ने सम्मका काम गरिरहेको छ ।
ज्योतीनगर र लक्ष्मिनगर क्षेत्रमा २०७८ सालमा आएको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो । १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो ।
सोही अनुसारको क्षति हुन नदिनका लागि बुटवल उपमहानगरपालिकाले विशेष प्राथमिकताका साथ बस्ती सुरक्षाका लागि काम गरिरहेको प्रमुख पाण्डेयले बताए ।
उनले नगरको बजेटले मात्रै ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथाम हुन नसक्ने भएकाले संघ र प्रदेश सरकारलाई पटक पटक अनुरोध गरेपनि उचित सम्बोधन हुन नसकेको बताए ।
पहिरो नियन्त्रणका लागि गत आर्थिक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदान अन्तरगत ४ करोड ५० लाखमा चेकड्याम, रिटर्निङ वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरणका लागि संरचनाहरु निर्माण गरिएका थिए ।
२०७८ भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिराका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सहजीकरण र सहयोगमा समितिका सदस्य तथा भू.विपद् विज्ञहरु डा सुस्मिता ढकाल, डा रञ्जनकुमार दाहाल, डा मनिता दाहाल र ई सञ्जय देवकोटा सम्मिलित टोलीले ज्योतिनगरको माथिल्लो भागमा रहेको श्रवन डाँडा क्षेत्रको पहिराको स्थलगत अध्ययन गरेका थिए ।