बुटवल । चिनियां ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिले अतिरिक्त पैसा माग्दै नारायणगढ–बुटवल सडक खण्डको काम ठप्प पारेको छ ।
कम्पनीले सार्वजनिक रूपमा मनसुनका कारण काम हुन नसकेको प्रस्टीकरण दिए पनि थप २ अर्ब रकम दाबी गर्दै काम ठप्प पारेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको छ । कम्पनीले आफूलाई ७ अर्ब घाटा भइसकेको र थप काम गर्न आफूसंग पैसा नभएको बताउने गरेको मन्त्रालय स्रोतले जनायो ।
सरकारले गएको साउन १० गते एक वर्षभित्र सम्पन्न गर्ने भनेर दोस्रोपटक म्याद थपिदिएको थियो । अहिलेसम्म पूर्वी र पश्चिमी दुवै खण्डमा लगभग ५२ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
चिनियां कम्पनीले आयोजनाका लागि केही कामदार राखेर बांकी सबैलाई छुट्टी भन्दै चीन पठाएको छ । एसियाली विकास बैंकको ऋण लगानीमा बन्न लागेको उक्त सडकमा अहिले ५०÷६० जना मात्रले काम गरिरहेका छन् ।
कम्पनीले ६ वर्षअघि अनुमानित लागतको २४ प्रतिशत कम रकममा सम्झौता गरेको थियो । बीचमा कोभिडलाई देखाएर काम हुन सकेन । रूख काट्ने विषयमा पनि लामो समय विवाद भएको थियो ।
नारायणगढ–बुटवल सडकको पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले चिनियां कामदार बिदा भनेर गएकाले काम ठप्प रहेको बताए । मिश्रले पश्चिम खण्डको भौतिक प्रगति ५३ प्रतिशत रहेको जानकारी दिए ।
मनसुनमा दाउन्ने खण्डमा केही अप्ठेरो पर्न सक्ने आंकलन गरिए पनि अहिले राम्रैसंग गाडी चलिरहेको उहांको दाबी छ । पूर्वी खण्डमा पनि काम ठप्प छ । पूर्वी खण्डका इञ्जिनियर शिव खनालले कालोपत्रेबाहेक सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि जम्मा ६४ कामदार खटिएको बताए ।
सडक कालोपत्रे र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्ने गरी निर्माण कम्पनीले समय तालिका सरकारी पक्षलाई उपलब्ध गराएको छ । यसबीचमा मर्मत र पर्खाल निर्माण गर्ने गरी कार्यतालिका पेस गरेको भए पनि सो अनुसारको काम सडकमा कोही देखिएका छैनन् ।
अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति जम्मा ४२ प्रतिशत थियो । अहिले पूर्वी खण्डको भौतिक प्रगति ५२ प्रतिशत रहेको इञ्जिनियर खनालको भनाइ छ ।
१ सय १३ किमी सडकमध्ये ७० किमी ४ लेन, २९ किमी ४ लेनसहित दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेन, ६४ पुल, चार सय ६२ कल्भर्टलगायत संरचना निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
हालसम्म २६ दशमलव ५ किमी ४ लेन र २२ किमी २ लेन सडक कालोपत्रे, ४२ पुल र ३ सय ८० कल्भर्ट निर्माण गरिएको छ । ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७५ सालको चैतदेखि काम शुरू गरिएको थियो । तर, विविध बहानामा ठेकेदार कम्पनीले काम गरिरहेको थिएन ।