

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा नयाँ हवाई प्रवेश बिन्दुबारे सहमति हुन सकेन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालबीच हवाई मार्गको विषयमा छलफल भए पनि सम्झौता हुन नसकेको हो।
नेपालमा बनेका २ नयाँ विमानस्थलमा नियमित उडानका लागि नयाँ हवाई प्रवेश बिन्दु अनिवार्य जस्तै भएको छ। नेपालले सन् २०१० यता बारम्बार थप हवाई प्रवेशबिन्दु माग गरेपनि भारतले विभिन्न कारण देखाउँदै पछि हट्दै आएको छ।
प्रधानमन्त्री दाहालले भ्रमणअघि नयाँ हवाई रूट दिने विषयमा भारत सकारात्मक भएको बताएका थिए। तर, बिहीबार मोदीसँग विभिन्न ७ बुँदे नयाँ सम्झौता भए पनि हवाई प्रवेश रुटको विषयमा भने सम्झौता हुन सकेन।
छलफलपछि दुई देशका प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन्। मोदीले क्रसबोर्डर रेल, पुलको विषय भने आफ्नो सम्बोधनमा उल्लेख गरे।
‘नेपाल र भारतको बोर्डर हाम्रो सम्बन्धमा अवरोध नबनुन्,’ ९ वर्षअघि नेपाल भम्रणको सम्झना गर्दै मोदीले भने,‘अहिले पारवहन सम्झौता गर्दै फिजिकल कनेक्टिभीटी बढाउने निर्णय गरेका छौं।’
भौतिक र डिजिटल कनेक्टिभीटीको विषयमा बोलेका मोदी एयर कनेक्टिभीटीको विषयमा बोल्न नचाहेका हुन्।
नेपालका प्रधानमन्त्री दाहालले भने हवाई रूटको विषयमा छलफल भएको संयुक्त पत्रकार सम्मेलनमार्फत नै बताए। भारतसँग थप हवाई रूट माग गरेको विषयमा छलफल भएको प्रधानमन्त्रीको भनाई छ।