रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

गुल्मीमा चाखलाग्दो प्रतिस्पर्धा

गुल्मीमा प्रतिनिधिसभाका दुईवटा निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रले यसपटक पनि धेरैको ध्यान खिचिरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा सदाबहार प्रतिस्पर्धीहरू प्रदीप ज्ञवाली र डा. चन्द्र भण्डारी प्रतिस्पर्धी छन् भने क्षेत्र नम्बर २ मा गुरु–चेली भनेर चिनिने पूर्वसहकर्मी गोकर्ण विष्ट र रामकुमारी झाँक्री आमनेसामने छन् ।  क्षेत्र नम्बर १ का उम्मेदवार एमालेका ज्ञवाली र कांग्रेसका भण्डारीबीचको प्रतिस्पर्धा निकै पुरानो हो । यी दुईबीच गुल्मीमा १४ वर्षदेखि एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको छ । आगामी ४ मंसिरको मतदानबाट पुनः आफूलाई साबित गर्न दुवै कम्मर कसेर लागेका छन् । क्षेत्र नम्बर २ मा एमालेले गोकर्ण विष्टलाई अघि सारेको छ । एमाले वृत्तमै हुर्के–बढेकी झाँक्री पार्टी विभाजनपछि बनेको एकीकृत समाजवादीबाट उम्मेदवार छिन् । टोपलाल अर्यालको रिपोर्ट :

क्षेत्र १ : १४ वर्षदेखि एक–अर्कासँग भिड्दै 
एमाले उपमहासचिवसमेत रहेका प्रदीप ज्ञवाली गुल्मी १ का निवर्तमान सांसद हुन् । ०७४ को चुनावमा उनी तत्कालीन एमाले–माओवादी वामगठबन्धनको उम्मेदवार थिए । उनको सीधा प्रतिस्पर्धा कांग्रेसका केन्द्रीय नेता चन्द्र भण्डारीसँग थियो । दुई ठूला कम्युनिस्ट पार्टीबीचको गठबन्धनका अगाडि भण्डारीको केही लागेन, ज्ञवाली विजयी बने । १४ वर्षदेखि भण्डारीसँग प्रतिस्पर्धा गरिरहेका ज्ञवालीको त्यो तेस्रो जित थियो । यसबीच भण्डारीले एकपटक मात्र ज्ञवालीलाई माथ दिएका थिए ।

गुल्मी १ मा यिनै दुई चौथोपटक मुख्य स्पर्धा देखिन्छन् । ०७४ को परिदृश्यमा यसपटक आकाश–जमिनको फरक आइसकेको छ । हिजो एमालेसँग गठबन्धन गर्दै पार्टी एकतासम्म गरेको माओवादी अहिले कांग्रेससँग गठबन्धनमा छ । स्वयं एमाले विभाजित भएको छ । र, विभाजनपछि बनेको एकीकृत समाजवादी पनि कांग्रेस–माओवादीसँगै सत्तागठबन्धनमा छ । अर्थात्, एकातिर एमाले उम्मेदवार ज्ञवाली छन्, अर्कोतिर सत्तागठबन्धनका साझा उम्मेदवार भण्डारी छन् । त्यसैले ज्ञवालीसामु जितको संख्या बढाउन ठूलो चुनौती खडा भएको छ ।

गठबन्धनकै कारण ज्ञवाली अप्ठ्यारोमा परेको विश्लेषक बताउँछन् । तर, स्थानीय तह निर्वाचन सामना गरेको एमाले गठबन्धन पन्छाएर विजयी बन्ने रणनीतिमा छ । गत वैशाखको स्थानीय तह चुनावमा गुल्मी १ मा पर्ने ५० वडामध्ये २३ मा एमाले, २२ मा कांग्रेस, ३ मा माओवादी केन्द्र र दुईमा अन्य दल विजयी भएका थिए ।

पछिल्लो पाँचवर्षे कार्यकालमा दूरगामी महत्वका थुप्रै आयोजना र कार्यक्रम सञ्चालन गरेकाले आफूलाई गठबन्धनले रोक्न नसक्ने ज्ञवालीको प्रतिक्रिया छ । ‘हामी चुनावी प्रपोगान्डा गर्दैनौँ । मतदाताका अगाडि बताउने सयौँ काम गरेका छाैँ,’ उनी भन्छन्, ‘जनता सचेत छन्, भ्रम धेरै समय टिक्दैन ।’

भण्डारी भने अवसर पाएर पनि ज्ञवालीले सदुपयोग गर्न नसकेको भन्दै जिल्लालाई नमुना बनाउने प्रशस्त आधार र योजना लिएर मतदाताको दैलोमा पुगिरहेको बताउँछन् । ‘थुप्रै अधुरा काम र केही नयाँ कामको लागि गठबन्धनमार्फत निर्वाचनमा होमिएका छौँ,’ उनी भन्छन्, ‘व्यवस्थाको रक्षा र परिर्वतनका लागि मेरो उम्मेदवारी हो ।’

ज्ञवालीका चुनावी एजेन्डा
– कालीगण्डकी करिडोर, मदन भण्डारी र रिडी–खज्र्याङ–बलकोटसहितको सडक सञ्जाल विस्तार, खानेपानी र विद्यालयका लागि पर्याप्त पूर्वाधारसहितको जिल्ला निर्माण गर्न चालू पूर्वाधार निर्माणका कार्य पूरा गर्ने
– रोजगारीका लागि गाउँ छोडेर परदेश पस्ने युवाहरूको संख्या कम गर्न युवा स्वरोजगार सिर्जना गर्ने । जसका लागि तथ्यांक संकलन, सीप विकास, पुँजी वितरण र बजार संरक्षण गर्ने
– सार्वजनिक शिक्षामा सुधार गरेर व्यावसायिक बनाउने
– जिल्लालाई पर्यटकीय र उच्च मूल्यका कृषिउपजको हब बनाउने

भण्डारीका चुनावी एजेन्डा
– भ्रष्टाचार निर्मूल गर्ने, विदेशमा भएको कमाइ एकद्वार प्रणालीमार्फत बैंकमा जम्मा गरेर विकास परिचालन गर्ने र ब्याज परिवारको हातमा दिने
– शिक्षा अन्तर्राष्ट्रिय पाठ्यक्रमअनुसार बनाउने र स्वास्थ्यलाई सर्भसुलभ बनाउने, बालबालिकाको खातामा पाँच हजार अभियान चलाउने
– डाक्टर तथा इन्जिनियरको दरबन्दी सिर्जना गरी भौतिक संरचनाको खर्च कम गर्ने
– निर्वाचन क्षेत्रमा आफूले पारेका ४२ वटा पक्की पुल, सालझण्डी–तम्घास सडक, लिफ्ट खानेपानी, तीनमुखे पुलको पूर्णतासँगै घरबारविहीन परिवारको व्यवस्थापन गर्ने

क्षेत्र २ : विगत एउटै घरमा, वर्तमानमा अलग

गुल्मी २ पूर्वसहकर्मीबीच रोचक प्रतिस्पर्धा छ । एमाले उम्मेदवार गोकर्ण विष्टको पाँचौँ प्रतिस्पर्धा हो । यसअघि चारपटकसम्म उनले विपरीत कित्ताका उम्मेदवारको सामना गरेका थिए । तर, यसपटक एउटै मोर्चामा रहेर वर्षौँ काम गरेकी पूर्वसहकर्मी रामकुमारी झाँक्रीको सामना गर्दै छन् । झाँक्रीलाई कांग्रेस, माओवादीसहितको वाम–लोकतान्त्रिक गठबन्धनको साथ छ । झाँक्रीलाई राजनीतिमा ल्याउन विष्टको योगदान रहेको आधारमा यसलाई गुरु–चेलीबीचको प्रतिस्पर्धाका रूपमा पनि हेर्ने गरिएको छ । यी दुवै आ–आफ्ना पार्टीका सचिवसमेत हुन् । गुल्मी २ मा ४३ वडा छन् । गत स्थानीय तह निर्वाचनमा कांग्रेसले २५, एमालेले १७ र माओवादीले एक वडा जितेका छन् ।

अहिलेसम्मको भिडन्तमा विष्टले धेरै जित र थोरै मात्र हार व्यहोरेका छन् । विष्टले ०५६ मा कांग्रेसका त्रैलोक्यप्रताप सेन, ०६४ मा माओवादीका चन्द्रबहादुर थापा र कांगे्रसका सुरेश भुसाल, ०७० मा पुनः कांग्रेसका त्रैलोक्यप्रताप सेन र माओवादीका वामदेव क्षेत्री तथा ०७४ मा कांग्रेसका चन्द्रबहादुर केसीसँग प्रतिस्पर्धा गरे । ०६४ मा बाहेक बाँकी तीनपटक विष्ट विजयी भए ।

०७४ मा झाँक्री पनि सांसद भइन् । एमालेले उनलाई समानुपातिकबाट सांसद बनाएको थियो । सो निर्वाचनमा उनी विष्टलाई भोट माग्दै गाउँघर डुलेकी थिइन् । अहिले दृश्य बदलिएको छ । तिनै गाउँघरमा झाँक्री आफ्ना लागि मत माग्दै हिँडिरहेकी छिन् । गठबन्धनको साथ देखिएकाले वैशाखको गणितमा झाँक्री अघि देखिन्छिन् । तर, उनको आफ्नै पार्टीको जनाधार भने निकै कमजोर छ । गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति झाँक्रीमाथि खन्याउनुपर्नेछ ।

झाँक्री समानुपातिक सांसद हुँदा निर्वाचन क्षेत्रलाई कुनै वास्ता नगरेकाले मतदाताले आफूलाई रोज्ने विष्टको दाबी छ । झाँक्री भने एउटै व्यक्तिलाई जहिल्यै भोट हालिरहनुपर्ने अवस्थाको अन्त्य गर्दै मतदाताले आफूलाई विजयी गराउने दाबी गर्छिन् । ‘विजयी हुँदा वा नहुँदा म सधैँ जनताको बीचमा छु । क्षणिक आलोचना र प्रपञ्चले केही फरक पर्दैन,’ विष्ट भन्छन्, ‘विकासमा मेरो योगदान मतदाताको अगाडि छर्लंग नै छ ।’ चुनावी कार्यक्रमको दौरानमा गुल्मेली मतदातामा आफूप्रति नयाँ आशा देखिएको झाँक्रीको प्रतिक्रिया छ । ‘लामो समय एकै व्यक्ति निर्वाचित गराएका मतदाताले पनि परिवर्तन खोजेका छन् । मैले घर–घरमा माया र आशीर्वाद पाएकी छु,’ उनी भन्छिन्, ‘माया र सद्भावलाई भोटमा रूपान्तरण गर्नुछ ।’

विष्टका मुख्य चुनावी एजेन्डा
– कृषि र पर्यटनबाट उद्यमशीलता विकास गरी स्वरोजगार बनाउने
– अस्पताल र स्वास्थ्य चौकीलाई भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालायुक्त बनाउने
– शैक्षिक संस्थाहरूलाई पूर्वाधार विकास गरी गुणस्तरीय शिक्षामा जोड दिने
– प्रत्येक घरमा पिउने पानीको धारा, मदन भण्डारी राजमार्ग, सालझन्डी–ढोरपाटन र पौदीअमराई–कृष्णनगर सडकसँगै प्रत्येक वडास्तरीय सडकलाई प्रमुख कालोपत्रे सडकसँग जोड्ने ।
– कपिलवस्तु–उत्तरगंगा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारसँगै विद्युत्को पहुँच विस्तार गर्ने ।

झाँक्रीका प्रमुख चुनावी एजेन्डा
– सुदृढ लोकतान्त्रिक व्यवस्था
– विगतमा एमालेले पटकपटक प्रतिनिधिसभा विघटन गरेकाले एमालेबाट संसद् र संविधानको रक्षा
– नीतिगत सुधार गर्ने, राष्ट्रिय रणनीतिका काममार्फत विकास र पूर्वाधारमार्फत सामाजिक न्याय स्थापित गर्ने
– तीनवटै तहका सकारकासँग समन्वय गरी संघीयतालाई दिगो बनाउने
– सबैखाले पूर्वाधार विकासका योजना ल्याउने र समयमै कार्यान्वयन गराउने

नयाँ पत्रिका बाट साभार 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार