नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

अनि सुशील दा’ले मेरो हातलाई सिरानी पारेर अन्तिम सास लिनुभयो

कृष्णप्रसाद अर्यालले पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइरालाको अंगरक्षकका रूपमा काम गरे । २० वर्षे प्रहरी सेवामा अधिकांश समय उनले भीभीआईपीको सुरक्षार्थ नै बिताए । प्रहरी सेवामा निर्विवाद दुई दशक गुजारेका अर्याल २६ माघ २०७२ को घटना कहिल्यै बिर्सन नसक्ने बताउँछन् । त्यस दिन नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको थियो । त्यस रातको स्मृतिलाई उनले यसरी उप्काए :

०००

रातको करिब १० बजेको थियो । सुशील दा’ले मलाई भन्नुभयो, ‘आज मलाई अलि थकान महसुस भएको छ, म अलि छिटो रेस्टमा जान चाहन्छु ।’ म उहाँको अंगरक्षक थिएँ ।

पार्टी महाधिवेशनको चटारो थियो । समीकरण मिलाउनुपर्ने, नेताहरूसँगको बाक्लो भेटघाटका कारण दुई सातादेखि उहाँ राम्रोसित सुत्न पाउनुभएको थिएन । ढल्किए पनि निन्द्रा नै पर्दैन भन्नुहुन्थ्यो ।

त्यस रात अलि छिट्टै आराम गर्छु भनेपछि मैले विस्तारा मिलाइदिएँ । औषधिपानी ठाउँमा राखिदिएँ । अक्सिजन पनि थियो ।

म पनि केही दिनदेखि मजाले सुत्न पाएको थिइनँ । उहाँ अलि छिटो सुत्ने भनेपछि म पनि त्यस दिन आनन्दले सुत्ने तरखर गर्दै थिएँ ।

तर, सुत्नुअघि एक पटक अक्सिजनको लेभल चेक गर्न उहाँको बेडमा गएँ । सबै चिकित्सकहरू खाना खान गइसकेका थिए । अक्सिजनको मात्रा सिचिउरिसनबाट हेरेँ । अक्सिजनको लेभल ७५/८० थियो । त्यसपछि चिकित्सकहरूलाई तत्कालै खबर गरेँ । तीन जना चिकित्सक तत्कालै आए ।

चिकित्सकले इन्जेक्सन दिए । स्लाइन चढाए । अनि उहाँलाई तत्काल अस्पताल लैजाने निर्णय गरे ।

चिकित्सकहरूले उहाँलाई एक साताअघि नै अस्पताल भर्ना भई उपचार गर्न सुझाएका थिए । तर, महाधिवेशनको समयमा अस्पताल बस्दा राम्रो सन्देश नजाने भन्दै उहाँ बस्न मान्नुभएको थिएन ।

चिकित्सकहरूले अस्पताल लैजाने तयारी गरिरहेका बेला उहाँले मलाई भन्नुभयो, ‘मलाई केही पनि भएको छैन । डाक्टरलाई किन बोलाएको ? म ठीकै छु त !’

उहाँले मसहित डाक्टरलाई समेत गाली गर्नुभयो, ‘केके न भएजस्तो किन अस्पताल जाने ?’

तर, अक्सिजनको लेभल घटिरहेको थियो । चिकित्सकहरू उहाँलाई जसरी पनि अस्पताल लैजाने तयारी गरिरहेका थिए ।

उहाँले नमानेपछि हामी मुख हेराहेर गरिरहेका थियौँ । उहाँ एक्कासि झस्किनुभयाे, आत्तिनुभयाे । आँखा ठूलाठूला पार्नुभयो । मैले आफ्नो दाहिने हातमाथि उहाँको टाउको राखेर सान्त्वना दिँदै भनेँ, ‘नआत्तिनुस् सुशील’दा ।’

छाती उठाउँदै उहाँले लामो सास फेर्नुभयो । म उहाँको टाउको सुम्सुम्याउँदै थिएँ । मेरो हातलाई सिरानी पारेर उहाँले लिएको त्यो सास नै अन्तिम सास भयो ।

नेपाल प्रहरीमा मैले २० वर्ष सेवा गरेँ । यस अवधिमा धेरै चुनौती, अप्ठ्यारा, सुखद, दुःखद घटनाको साक्षी बनियो । तीमध्ये थोरै मात्र घटना यादमा छन् । यस्तै घटनाहरूमध्ये एक हो २६ माघको त्यो रात । अंगरक्षक भए पनि उहाँ आफ्नो परिवारको सदस्यलाई जस्तै माया दिनुहुन्थ्यो । हुन त म गिरिजाबाबुको निधन हुँदा पनि उहाँको अंगरक्षक नै थिएँ । तर, सुशील’दालाई भने निकै नजिकबाट चिन्ने अवसर पाएँ । साह्रै सरल स्वभावको हुनुहुन्थ्यो उहाँ ।

उहाँको जीवनशैली अत्यन्तै साधारण थियो । आफूले बोलेका कुराप्रति दृढ बस्नुहुन्थ्यो । फुर्सदको समयमा विकसित देशले कसरी काम गरेका छन् भनेर टीभीका रिपोर्टिङ हेर्नुहुन्थ्यो ।

नेता इमानदार हुनुपर्छ भन्नुहुन्थ्यो । राष्ट्रको पैसा कसैको गोजीमा पर्न हुँदैन भन्नुहुन्थ्यो । उहाँ अरुलाई छिट्टै विश्वास गरिहाल्ने स्वभावको हुनुहुन्थ्यो । अरुलाई धेरै विश्वास गर्ने हुँदा उहाँ कहिलेकाहीँ अप्ठेरोमा पर्नुहुन्थ्यो । उहाँको कमजोरी भनेको आफूले नबुझेका कुरामा समेत ढिपी गर्न खोज्नु थियो । तर, विस्तारै उहाँले त्यो बानी सुधार्नुभएको थियो ।

उहाँको ज्यादै माया लाग्थ्यो । त्यसैले उहाँको निधनमा मेरा आँखाले आँसु थाम्न सकेनन् ।

उहाँको निधनपछि १३ दिनसम्म म महारागञ्जस्थित कोइराला निवासमै बसेँ । त्यसपछि पुनः सुजाता कोइरालाको अंगरक्षकको रूपमा विभागले जिम्मेवारी तोक्यो । डेढ वर्षजति सुजाता कोइरालाको सुरक्षार्थ खटिएपछि म सेवानिवृत्त भएँ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–६ मेरो जन्मगाउँ । २०५६ सालमा विराटनगरबाट प्रहरी सेवामा प्रवेश गरेको हुँ । तालिमपश्चात् तीन वर्ष प्रहरी प्रधान कार्यालयमा काम गरेँ ।  त्यसपछि भीभीआईपीको सुरक्षामा मलाई खटाइयो ।

फागुन २०७५ मा प्रहरी सहायक निरीक्षक पदबाट सेवानिवृत्त भएको हुँ । मैले पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवाको अंगरक्षकका रूपमा पनि काम गरेँ ।

विकाश पराजुली

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार