रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

तिनाउ–दानव करिडोर निर्माणले गति लिँदै

  • ४ अर्ब १३ करोड लागत
  • बुटवलबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो चुनावी घोषणापत्रमा तिनाउ–दानव करिडोरको योजना समावेश गर्दा धेरैले महत्त्वाकांक्षी योजना भन्दै आलोचना गरे।

    कतिपयले त्यहाँ रहेको जनतालाई ‘उठिबास लगाउने योजना हो’ भन्ने प्रचारसमेत गर्न भ्याए। यति सम्मकी योजनालाई राजनीतिकरण गर्दा बेला–बेलामा आयोजना निर्माणमा समेत अवरोध भयो। तर, अहिले भने योजना तीव्र गतिमा अघि बढेको छ।

    तिनाउ नदीको संरक्षण गर्दै यसको पूर्व र पश्चिमतर्फको बगरसँग जोडिएका बस्तीमा हुने क्षति न्यूनीकरण गर्ने पर्यटकीय थलोको रूपमा विकास गर्ने परिकल्पनाका साथ तिनाउ दानव करिडोरको योजना अहिले अघि बढेको हो।

    तिनाउ करिडोरको निर्माणसँगै तिनाउ र दानव नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरी नदीको जगदेखि नै पर्खाल लगाइनेछ। पर्खाल बाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली बगैँचा निर्माण र त्यसको छेउमा बस्तीतर्फ फुटपाथसहितको ७÷७ मिटरको दुई लेन कालोपत्रे सडक तयार हुनेछ।

    ‘बुटवलको बीचभागबाट बग्ने तिनाउले यहाँको सभ्यता विकासमा ठूलो योगदान गरेको छ। चुरेको फेद भएर बग्ने तिनाउ नदीले यो शहरलाई शितलता मात्रै प्रदान गरेको छैन, हजारौं विगाह जमिनलाई सिञ्चित गरेर उर्वर बनाइरहेको छ’, एमाले उपाध्यक्ष एवं रूपन्देही क्षेत्र नं. २ का सांसद विष्णु पौडेलले भने।

    रुपन्देहीको महत्त्वाकांक्षी परियोजना तिनाउ–दानव करिडोरको पहिलो चरणका काममा हालसम्म ३० प्रतिशत बढि प्रगति भएको छ। तिनाउ नदी र दानव नदी किनारमा हरियालीसहित सडक निर्माण गरी सुन्दर बुटवलको परिकल्पनासहित अगाडी बढाइएको योजना अन्तर्गत पहिलो चरणमा तिनाउ नदीतर्फ साढे ८ किलोमिटर तथा दानव नदी तर्फ ४ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता भइ काम अघि बढेको छ।

    करिडोर निर्माण अन्तर्गत नदी उकास क्षेत्रमा ग्याबिन भर्ने, मेशीनरीवाल उठाउने, नाली निर्माण, कल्भर्ट निर्माण लगायतका काम भएका छन्। ०७७ असोजमा ठेक्का स्वीकृत भएको करिडोरको तिनाउतर्फ पुरानो बसपार्क पछाडिको जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगर घाटसम्म र दानवपट्टी बेलबासको झोलुंगे पुलदेखि नयाँ गाउँको पुलसम्म पहिलो चरणको सम्झौता भई काम अघि बढेको छ।

    डिभिजन सडक कार्यालय बुटवलका अनुसार तिनाउ करिडोरतर्फ पहिलो चरणको काममा ३५ प्रतिशत प्रगति भएको छ। बुटवलको देविनगर पुलदेखि मगरघाट पुलसम्म नदीका दुवैतर्फ गरी ३२ हजार घनमिटर जाली लगाउने काम भएको छ । यसैगरी १ किलोमिटर नाली निर्माण भएको छ।

    किरातेश्वर, मैनाचुली, अविशा जेभिसँग २०७७ असोजमा ३६ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता भए पनि पहिलो वर्ष कोरोना महामारी तथा साइड क्लियर लगायतका कारणले अघि बढ्न सकेको थिएन।

    दोस्रो वर्ष भने योजनाको काम सन्तोषजनक रहेको कार्यालयको भनाइ छ। यसैगरी करिडोर क्षेत्रमा भएका बस्ती व्यवस्थापनको समस्या समाधान भएमा यो वर्ष पनि थप ३० प्रतिशत बढी प्रगति हुने अनुमान छ।

    यसैगरी दानव नदीतर्फको करिडोर निर्माणका लागि लामा, बानियाँ जेभीसँग ठेक्का सम्झौता भई काम भइरहेको छ। करिडोरको करिब ४ किलोमिटर सडक २ वर्षमा सक्नेगरी २०७७ असोजमा ठेक्का सम्झौता भएको हो। यो योजनामा पनि ३० प्रतिशत बढी प्रगति भएको डिभिजन सडक कार्यालयको भनाइ छ।

    करिडोर निर्माणका लागि हालसम्म २ किलोमिटर बढी ग्याबिन भर्ने तथा मेशिनरी वाल उठाइएको छ। आधा दर्जन कल्भर्ट निर्माण तथा एक किलोमिटर सडक ग्राभेलको काम समेत भएको छ। बस्ती व्यवस्थापन लगायतका सबै समस्या हटेको खण्डमा यसैवर्ष काम सम्पन्न हुने कार्यालयको दाबी छ।

    पहिलो चरणमा तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा सक्ने सम्झौता छ। करिडोर निर्माणका लागि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो। त्यसले ५० किलोमिटर करिडोर निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लाग्ने देखाएको छ।

    २०७७ मंसिर १० गते शिलान्यास गरिएको आयोजना निर्माणपछि बुटवलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र मर्चवारसम्म जोड्ने बाइपास सडकको रूपमा प्रयोग गर्न सकिने छ। करिडोरले नदी कटानलाई समेत समाधान गर्नेछ।

    तिनाउ र दानव नदीको वारिपारि दुवैतर्फको किनारमा ग्रिनरी सहितको डबल लेनको सडक निर्माणपछि यस क्षेत्रको बस्तीले थप सुन्दर र व्यवस्थित देखिने पौडेलको दाबी छ।

    बुटवलतर्फ तिनाउ करिडोरले सबैभन्दा धेरै क्षेत्र ओगटेको वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री विगतमा तिनाउ दानव करिडोर पीडित संघर्ष समितिका नाममा केहि दलले आन्दोलनलाई बढावा दिएपछि आयोजना पछाडि धकेलिएको बताए।

    पहिलो चरणमा तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएपनि दुवैतर्फ गरी ५० किलोमिटर सडक निर्माणका लागि ४ अर्ब १३ करोड रुपैयाँ लाग्नेछ । कोरिडोर निर्माणपछि अहिले अतिक्रमण हुँदै आएको तिनाउ नदीको उकास क्षेत्र जोगिने र नदीको बहाव क्षेत्र सुरक्षित हुने वडा अध्यक्ष क्षेत्रीको विश्वास छ।

    नदीतर्फको तीन मिटर क्षेत्रमा हरियाली क्षेत्र बनाइनेछ भने त्यसपछि मात्र १४ मिटरको दुई लेन सडक सडक हुनेछ। त्यस्तै, बस्तीतर्फको सडक छेउमा फुटपाथ निर्माण गरिनेछ। यी दुवै आयोजनाले तिनाउ नदीको सुरक्षा र सौन्दर्य बढाउने मात्र होइन, रूपन्देहीको आर्थिक तथा पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

    उकेरा बाट साभार

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार